काठमाडौं, फागुन १४ । सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका बारेमा पार्टीको आधिकारीक धारणा तय गर्ने भएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको शुक्रवारदेखि जारी बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने बताइएको छ । शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो । आजको बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राख्ने र पार्टीको आधिकारिक धारणा तय गर्ने नेताहरुले बताएका छन् । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादवले केही बोलेका छैनन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय राजनीति नै तरंगित भएको बेला सत्ता साझेदार दल जसपा अनिर्णित छ ।
आइतबारको संसद बैठकमा निर्णयार्थ पेश हुन सक्ने एमसीसीका पक्षमा सरकारको नेतृत्व गरिरहेको कांग्रेस र गठबन्धन बाहिरको लोसपा खुलिसकेको अवस्थामा जसपाले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दै छ ।




