काठमाडौँ, मङ्सिर २५ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । काँग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार बिहान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।
शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयन माथिको दाबी विरोध र नाम फिर्ताका लागि मङ्सिर २६ गते आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
नेपाली काँग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ। त्यसैगरी १२१ जना केन्द्रीय सदस्य निर्वाचनबाट छानिने छन् । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था काँग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।





