नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज काठमाडौँ मा हुँदैछ ।
दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाट्न हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिएका छन् ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने बताइएको छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरण सहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यतालिका
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय पर्सी बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ : १५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ ।
कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।




