काठमाडौं,
प्रतिनिधिसभाको बैठकमा बिहीबार नेकपा माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई लक्षित गरेर बोलेका शब्दावलीप्रति एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उक्त शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्दावली संसदको रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह गरे । शुक्रबारको बैठक सुरु हुनासाथ भट्टराईले उक्त आग्रह गरेका हुन् ।
बिहीबारको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो’, उनले बैठकको सुरुमै भने, ‘त्यो भनाइप्रति हाम्रो गम्भीर आपत्ति छ । त्यतिबेलै ध्यानाकर्षण गराउँदा सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो भन्ने मात्रै भयो । संसद जथाभावी शब्द प्रयोग गर्ने ठाउँ होइन । यो ठाउँमा जसरी शब्दहरू प्रयोग गरियो ? एक माननीयले अर्कोलाई गाली गलोज संसदको गरिमा हो र ?’
सरकार बनाउने र कसैलाई हटाउने शक्ति जनतामा मात्रै रहेको भन्दै उनले अहिले अनपेक्षित रुपमा सर्वोच्चको फैसलाले मात्रै केपी ओलीलाई हटाइएको भट्टराईले बताए ।
एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै उनले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरे । उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।




