काठमाडौं । बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताएका छन् ।
‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,, ती पार्टी कार्यकर्ता होइनन् ।’ ओलीले भनेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन खारेजको माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।
गत शुक्रबार मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिए पनि नेपाल पक्षले हस्ताक्षर फिर्ता लिन मानेको छैन ।
‘जो पार्टीको पक्षमा बोलिरहेको छ, त्यो नेता कार्यकर्ता हो’ उनले भने, ‘जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन, त्यो नेता कार्यकर्ता होइन । पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ?’
पार्टीको विचार, संगठन, एकताको पक्षमा उभिनेहरु मात्र नेता हुने भन्दै उनले अघि भने, ‘पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय छ भने पार्टीको नेता होइन । छद्म हो भने थाहा पाएको दिन हट्छ । खुलेआम छ भने हटेकै भन्ने थाहा पाए हुन्छ ।’
अरुको पार्टीमा जानेलाई पर्खेर नबस्ने अध्यक्ष ओलीले बताए । ‘जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन’, ओलीको भनाइ छ ।
अदालतको निर्णय जे आए पनि त्यसको भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बसेर निर्णय गरिने प्रधानमन्त्री ओलीले बताए । ‘बाटो बिराएर अलमल भएकाहरु अदालतको निर्णयअघि पार्टीमा आउनुपर्छ’ उनले भने, ‘अदालतको निर्णय जे आएपनि त्यसको भोलिपल्टै केन्द्रीय कमिटीको बैठक बसेर बाँकी निर्णय गरेर अघि बढ्नुपर्छ ।’




