जेठ २२ गते ।प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा आज विशेष समय लिएर बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
संसदीय दलका नेता केपी शर्मा ओलीले मुलुकको भूमि साटफेर गर्ने संवैधानिक व्यवस्था छैन, कुनै ऐन कानुन छैन, यस्तो विषय भ्रमणका बेला उठाउन नै मिल्दैन उहाँले भन्नुभयो, “मुलुकको भूमि संरक्षण, सार्वभौम तथा राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता गर्न सकिँदैन ।” देशको सीमा समस्या बङ्गलादेश मोडलमा समाधान गर्न नसकिने उहाँको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको संसद् बैठकमा आफूले बङ्गलादेश मोडलमा समस्या समाधान गर्ने विषय भ्रमणका क्रममा नउठाएको बल्की नेपालका विज्ञहरूले उठाइरहेको विषय जानकारी गराएको प्रष्ट पार्नुभएको थियो । भारत भ्रमणलाई लिएर सांसदहरूले बैठकमा कुरा उठाएपछि प्रधानमन्त्रीले त्यसमा प्रष्ट पार्नुभएको थियो ।
अध्यक्ष ओलीले ; प्रधानमन्त्री देशको प्रधानमन्त्री र अभिभावक भएकाले देशप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “प्रधानमन्त्रीको अपमान हुँदा व्यक्तिको हुँदैन, देशकै अपमान हुन्छ” अध्यक्ष ओलीले थप्नुभयो, “देशको प्रधानमन्त्री देशप्रति जबाफदेही हुन्छ, मुलुकप्रति जिम्मेवार हुन्छ ।”
संसदमा नागरिकता विधेयक ल्याएर प्रक्रियामार्फत पारित गरेर प्रमाणीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । संसद् बैठकलाई बाइपास गरेर नागरिक ताजस्तो गम्भीर विधेयकलाई अगाडि बढाउन नहुने उहाँले बताउनुभयो । सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेकाले पुनः त्यसलाई संसदमा ल्याएर टुङ्गो लगाउनुपर्ने उहाँले सुझाव दिनुभयो । सो अवसरमा उहाँले भारत भ्रमणका क्रममा नेपाललाई भएको उपलब्धिलाई सरकारले प्रमाणित गर्नुपर्ने उहाँले टिप्पणी गर्नुभयो ।




