काठमाडौं, जेठ २० । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ। शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका हुन्।
संसदीय समितिले मुल्यवृद्धि घटाउनका लागि र अब बढ्न सक्ने खतराबाट मुल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि सुझाव पेश गर्ने उनले बताए। भट्टराईले कमिशनको सेटिङमा पेट्रोलियम पद्धार्थको आयात गर्न नीजि क्षेत्रलाई दिइन लागेको भन्दै यस बारे जवाफ दिन सरकारसँग माग गरे।
‘आयल निगमले गरेको पेट्रोलियम पद्धार्थको आयातको कामलाई नीजि क्षेत्रलाई दिने काम असाध्यै ठुलो कमिशनको सेटिङमा आधारित छ भनेर मान्छेहरुले व्यापक रुपमा बजारमा भनिरहेका छन्। यसको जवाफ के छ? म मन्त्रीज्यूसँग र सरकारसँग सोध्न चाहान्छु। के कारणले तपाईहरुले यसमा नियन्त्रण गर्नका लागि भरपर्दो उपायहरु अपनाइरहनु भएको छैन?’ उनले भने ।
उनले पेट्रोलियम पद्धार्थको आयात गर्न नीजि क्षेत्रलाई दिने सम्बन्धमा कुनै ऐन, कानून नभएको भन्दै कुन आधारमा दिन लागिएको हो भनी सरकारलाई प्रश्न समेत गरे।




