काठमाडौं, जेठ १७ । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ?’ भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन्। ‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताएका थिए। अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन। अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा स्वास्थ्यको बजेट नबढाउनुभएको हो?’ भट्टराईले अर्थमन्त्रीलाई प्रश्न गरे।
यसपटकको बजेट गन्तव्यहीन भएको टिप्पणी गर्दै भट्टराईले बजेटले मुलुकको हित नगर्ने बताए। ‘यो चौबाटोमा उभिएको बजेट हो। गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन। यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, उनले भने




