काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ। आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ।
सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ। ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उनका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ। दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ आयोग स्रोतले भन्यो, ‘आजै प्राप्त हुने प्रतिवेदनलाई आयोगको बैठकमा पेस हुने र सोधपुछ गरिनेछ।’
कांग्रेस नेतृ राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गरेकी थिइन्।




