काठमाडौं, बैशाख ११ । नेपाली कांग्रेसले करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ। आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक गरेको घोाणापत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ।
सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ। कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ।
नेकपा एमालेले समृद्ध नेपालको राजनीतक भाष्य र कोरा विकासको मोडल बनाएको भन्दै कांग्रेसले भनेको छ, ‘समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरिएको छ।’
यस्तो समृद्धिको आधारले देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकास भएको कांग्रेसले निष्कर्ष छ। ‘त्यस्तो विकासले जनताको शीरमा ऋणको भारी बोकाउँछ, प्राकृतिक स्रोतहरुको अवैज्ञानिक दोहन गरेर भावी पुस्तालाई समते जोखिममा पार्ने गरी पर्यावरणीय संकट निम्त्याउँछ ।’ निश्चित ठाउँमा जनसंख्याको केन्द्रिकरण गर्दै लैजाने, शहर र ग्रामिण, धनी र गरिब बीचको असमानताको खाडल अझ फराकिलो बनाउने कांग्रेसले बताएको छ।
समुन्नत नेपाल नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने अवधारण भएको भन्दै कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, कृषि, उद्या र रोजगारी तथा स्थानीय पूर्वाधारमा अबको १० वर्षमा गर्ने कामको योजना अघि सारेको छ।




