काठमाडौं, बैशाख ११ । स्थानीय तह निर्वाचनमा आपसी तालमेलको विषयलाई अन्तिम रुप दिन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने तय भएको छ। महानगर र उपमहानगरमा भागबण्डा मिले पनि नगरपालिका तथा गाउँपालिकामा अझै किचलो भएपछि त्यसको समाधान खोज्न बैठक बस्न लागेको हो। कतिपय स्थानीय तहमा तालमेलबारे कुरा मिल्न नसकेपछि केन्द्रकै निर्णय पर्खिएका छन्। उम्मेदवार मनोनयन गर्ने दिन आइसक्दा पनि गठबन्धनमा सबै पालिका तहमा भागबण्डा मिलेको छैन।
त्यसअघि नमिलेको ठाउँको विवाद मिलाउन सत्ता गठबन्धनको चुनावी संयन्त्रको बैठक समेत बोलाइएको छ। संयन्त्रले दिएको सुझावका आधारमा दिउसो बस्ने शीर्ष नेताहरुको बैठकले विवादित ठाउँहरुमा कसरी जाने भन्ने निर्णय लिने छन्।




