काठमाडौं, बैशाख ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा झुक्किएर पनि नबोल्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
विहीबार राजधानीमा एमाले सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही नेताले मौका पाउँनासाथ विघटन गलत थियो भन्ने गरे पनि सल्लाहकारले भने भुलेर पनि त्यसो नभन्न आग्रह गरे। “विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ। नत्र प्रचण्ड–माधव जस्ताको कब्जामा गएर एमाले ध्वस्त भइसक्थ्यो।” ओलीले भने,–“उनीहरूको कब्जामा गएर भाइलाई के बनाउने, छोरी बुहारीलाई के दिने भन्नेमै केन्द्रित भएर यो पार्टी समाप्त हुने थियो।”
प्रतिनिधिसभा विघटन गरेर पार्टीलाई प्रचण्ड माधवको कब्जामा जानबाट रोक्न सकिएको भन्दै ओलीले आज एमाले देशको प्रमुख शक्ति बन्नुमा त्यही विघटनबाट पार्टी जोगाएकाले हो भने। अध्यक्ष ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताए । उनले माधव नेपालले एमाले सिध्याउँछु भनेर भाषण गरिरहेकोमा व्यंग्यसमेत गरे । ओलीले भने, ‘यिनीहरू पाँच दलले नसकेर झापामा मेरै गृहजिल्लामा राप्रपालाई मेयर दिएर जाने भएछन्।
ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो अहिले जलिरहेको टिप्पणी गरेका छन्। ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भने, ‘हनुमानले जस्तै यिनीहरूले पनि एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ।




