काठमाडौँ, चैत २४ । नेकपा एमालेले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचन आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले नेकपा एमालेका कानुन विभाग प्रमुख रमेश बडालले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। नेकपा एमालेले भने निर्वाचन आचारसंहिताका केही बुँदा संविधान र कानुनभन्दा बाहिर गएर व्यवस्था गरिएकोले यथास्थितिमा पालनाको प्रतिबद्धता नगर्ने जनाएको थियो।
नेकपा एमालेका कानुन विभाग प्रमुख बडालले भने, “हामीले खोजेको विषयबारे निर्वाचन आयोगले प्रष्ट्याएको हो, अगामी दिनमा उक्त विषयलाई सम्बोधन गर्ने भनेपछि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हौं।”
नेकपा एमालेले आचारसंहितको दफा ३६ र सामाजिक सञ्जालमा उम्मेदवारको पक्ष र विपक्षमा प्रतिक्रिया जनाउने व्यवस्थाबारे स्पष्ट गर्न आयोगलाई आग्रह गरेको थियो ।
स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन्। ७९ दलमध्ये अधिकांशले आचारसंहिता पालनाको हस्ताक्षर गरिसकेका छन्। उपन्यायधिवक्ता वाग्लेले भने, “बाँकी रहेका केही दलका प्रतिनिधि आइरहेकै छन्, सबैले पालनाको प्रतिबद्धता जनाउने विश्वास गरेका छौं।”




