काठमाडौं, चैत २३। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई देशको भन्दा पनि आफूले भाग पाइन्छ कि पाइन्न भन्ने चिन्ता भएको बताएका छन्।
बुधवार काठमाडौंमा एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा नेकपा नेतृत्वको सरकारले राष्ट्रिय हितका लागि विभिन्न काम गर्न खोज्दा प्रचण्ड–माधवले आफूले के पाउँछौं भनेर अत्तो थाप्ने गरेको सुनाए। “एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ। देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ। अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ।”उनले भने ।
त्यतिबेला पनि उनीहरुको अवरोध चिरेर आफूले धेरै काम गरेको दावी गर्दै उनले अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेको बताए। ओलीले आफ्नै पार्टीभित्रबाट निरन्तर अवरोध हुँदा पनि विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र नयाँ दृष्टिकोणका साथ ठूला परियोजनाहरु अघि बढाउने काममा आफू सफल भएको दावी गरे।
अप्ठेरो र अवरोधबीच पनि कसरी काम गर्नुपर्छ भन्ने आफूले बितेका ३ वर्षमा धेरै सिकेको भन्दै अध्यक्ष ओलीले अब चुनावबाट बाँकी योजना पूरा गरिने बताए।




