काठमाडौं, चैत ८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटन ठीक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर भएको बताएका छन्।
आफूले पार्टी बैठकमा अघि सारेको बाम एकताको प्रस्तावबारे मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेता भुसालले संसद विघटन गलत थियो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनिसकेको अवस्थामा अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताए। “सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु हुन्छ।” भुसालले भने,
“अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ।” त्यस्तो काम एमालेले नगर्ने उनले दावी गरे। एमाले पोलिट्ब्युरोको सोमबारको बैठकमा भुसालले विगतका कमीकमजोरीलाई कोट्याइरहने भन्दा बाम एकताका लागि पहल लिनुपर्ने प्रस्ताव गरेका थिए।




