काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि बैशाख ३० का लागि निर्धारित स्थानीय तहको चुनाव सार्ने षडयन्त्र भइरहेको बताएका छन्।
नेकपा एमाले पोलिटब्यूरोको बैठकलाई सोमबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको जिकीर गरे। आफ्नो सरकारका पालामा नियुक्त भएका तीन निर्वाचन आयुक्तहरुको नियुक्ति बदर गराएर बाँकी आयुक्तहरुबाट निर्वाचन हुन सक्दैन भन्ने बनाउन षडयन्त्र भइरहेको उनको दावी छ। ओलीले भने, “षडयन्त्रको विल भर्पाइ हुँदैन, त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन।”
निर्वाचन आयोगको पछिल्लो गतिविधिसमेत एमालेविरुद्ध भएको उनको आरोप थियो। ओलीले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध लक्ष्यित रहेको टिप्पणी गरे।
निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था गर्दा राजनीतिक दलहरुसँग परामर्श नगरेको गुनासो समेत गरेका छन्।




