काठमाडौं, चैत ७ । नेकपा एमाले संघीय संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन्।
सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रमुख सचेतक भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन गर्न सकिने भएपनि राष्ट्रियस्तरमा तालमेल र गठबन्धन गर्ने आफूहरुको कुनै नीति नरहेको स्पष्ट पारे। “यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन। एमाले एक्लै चुनाव लड्छ।” भट्टराईले भने, “स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भए बाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन।”
अहिले एकातिर एमाले र अर्कोतिर गठबन्धनबीच राजनीतिक कित्ताबन्दी भएको अवस्थामा एमालेले सर्वसम्मत उम्मेद्वार छानेर अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्नेगरी तयारी भैरहेको उनको भनाइ थियो। भट्टराईले सोमबारको पोलिटब्युरो बैठक केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको तयारीमा केन्द्रीत हुने जानकारी पनि गराएका थिए।




