काठमाडौँ, चैत ६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन्। ‘गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’ उनले भने।
साथै अध्यक्ष प्रचण्डले वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।
पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन्। फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्।




