काठमाडौँ, चैत ६ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश संसदीय दलका मुख्य सचेतक ठम्मरबहादुर विष्ट नेकपा (एमाले)मा प्रवेश गर्दै छन्।
प्रादेशिक राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने एक कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई एमालेमा स्वागत गर्ने भएका छन्। विष्टले पनि आफू आज एमालेमा प्रवेश गर्न लागेको पुष्टि गरेका छन्। सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए। तर पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
बिष्ट एमाले प्रवेश गर्न लागेको जानकारी पाएपछि माओवादीले उनलाई कारबाही गरेको सूचना जारी गरेको छ। माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका हुन्।




