काठमाडौँ, चैत १ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०६/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएको दाबी गरेका छन्। उनले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट राजनीतिक ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित राप्रपानिकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद ९राप्रपा० को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले हालको स्थितिमा परिवर्तन हुनुपर्ने कुरामा जोड दिए। नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताए।
राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाशजङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद (राप्रपा)को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ। परिषदको सहअध्यक्षमा डिबी थापा, सात वटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू तोकिएको छ।




