काठमाडौँ, चैत १ । विवेकशील साझा पार्टीले २६ जना नेतालाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ।
बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए। कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पनि नतिरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट पद मुक्त गरेको छ।
‘आइतबार ९फागुन २९० बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो,’ प्रवक्ता पाठकले भने, ‘कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि उहाँहरूले पदीय जिम्मेवारी बहन गर्नुभएन। कतिपय साथीहरू समानान्तर गतिविधिमा संलग्न हुनुभयो, यसले पार्टीलाई नै क्षति हुने देखियो।’




