काठमाडौँ, चैत १ । नेपालको औपचारिक भ्रमणमा रहेका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राजनीतिक भेटघाट गर्दैछन्।
परराष्ट्र मन्त्रालयका अनुसार बिहान १० बजे परराष्ट्र मन्त्रालयमा साउदले नेपाली समकक्षी नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन्। सो भेटघाटपछि नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ। खड्काले साउदसहित साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन्।
मंगलबार दिउँसो साउदी विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउद निजी विमान चढेर सोमबार काठमाडौं आएका हुन्। उनी आजै अपराह्न स्वदेश फर्कने कार्यक्रम छ।




