काठमाडौं, फागुन ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्ने एमाले नेता डा.भीम रावलप्रति तीव्र आक्रोश ब्यक्त गरेका छन्।
सोमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेले संसदमा दर्ता गरेको प्रस्ताव अनुमोदन गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको टिप्पणी गरे। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै अहिले पारित भएको उनको स्पष्टीकरण थियो। आफैं सत्तामा हुँदा एमसीसी अघि बढाउने रावलले अहिले विरोध गर्नुको कुनै तुक नहुने प्रधानमन्त्रीले बताए।
“केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो?, रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन? एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको? देउवाले भने।
रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिए।




