काठमाडौं, फागुन २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्।
बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। सत्ता गठबन्धन दलबीच गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको समेत उनले बताए।
‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन। सरकारका लागि गठबन्धन आवश्यक छ,’ उनले भने, ‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो रु तपाईहरुलाई थाहै छ।’
प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको र अहिले गठबन्धनका सरकार हुँदा निर्वाचन लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार रहिरहने बताए।




