काठमाडौँ, फागुन २५ । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन्।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन। एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए।




