काठमाडौं, फागुन २४ । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले चैत दोस्रो साता थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो।
खेल मार्च २४ (चैत १०) मा थाइल्यान्डको चोन बुरीमा हुनेछ। त्यसपछि नेपालले मार्च २७ मा स्थानीय टिमसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। स्थानीय चोन बुरी एफसीसँग नेपालले प्रतिस्पर्धा गर्नेछ। फिफा वरीयतामा नेपाल १६७ औंं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ।
पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७(० को फराकिलो अन्तरले पराजित गरेको थियो।नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो। छनोटमा नेपाल कठिन समूहमा छ।
समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।




