काठमाडौं, फागुन २२ । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो।
तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएक छन्। उहाँले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन्। दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन्।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो।




