काठमाडौं, फागुन १९ । नेपाल बार एशोसिएशनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो । पत्रकार स्म्मेलनमा बोल्दै नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसकिने बताए। उनले प्रतिनिधिसभामा दर्ता भएको प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोगको प्रस्ताबमा यथाशीघ्र कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताए।
महासचिव पौडेलले प्रधानन्यायाधीश जबराको बहिर्गमनले मात्रै न्यायापालिका सुधार हुन नसक्ने र भ्रष्टाचारको निर्मुलताका लागि शंकास्पद भुमिकामा देखिएका अन्य न्यायाधीशहरुबारे पनि छानबिन प्रक्रिया अघि बढाउन माग गरे।




