काठमाडौं, फागुन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन्।
टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको उल्लेख गरेका हुन्।
‘रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ’, कुराकानीपछि विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन्। नेपालको संसद्ले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गरे लगत्तै भएको कुराकानीलाई महत्वका साथ हेरिएको छ।
टेलिफोनमा आर्थिक विकास र क्षेत्रीय चुनौतीको विषयमा समेत छलफल भएको छ। एन्टोनीले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्ने ट्वीटरमा उल्लेख गरेका छन्।
ट्वीटरमा थप भनिएको छ,‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्नेछौँ।’




