१३ फागुन, काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग फुटबलको अन्तिम चरणका दुई खेलहरु आज संचालन हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । १२ खेलबाट १३ अंक जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ भने १२ खेलमा १५ अंक जोडेको संकटा सातौं स्थानमा छ । दुबै टोलि आफ्नो अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने योजनामा छन् ।
उता एकै समयमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको थ्री स्टार आजको खेल जितेर लिग तालिकाको स्थान सुधार्ने दाउमा हुनेछ । उता १२ खेलमा ७ अंक जोडेर रेलिगेसनमा परिसकेको ब्रिगेड जीतसंगै ए डिभिजन छोड्न चाहन्छ ।




