‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट (आज ) प्रदर्शनमा आएको छ । फिल्म निर्माण सकिएको २ वर्षपछि प्रदर्शनमा आउन लागेको हो । कोरोनाको कारण अलपत्र अवस्थामा पुगेको फिल्म क्षेत्रलाई यो फिल्मले पुर्नजीवन दिने अपेक्षा गरिएको छ । सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ ।
बुधवार राति किर्तिपुरमा भएको प्रिमियरमा वाहवाही बटुलेको फिल्मले एक सुपरस्टार गायक र एक नवोदित गायिकाबीचको प्रेमकथा भन्छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको मुख्य भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत छ ।
हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद पनि फिल्मले काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि थप शो बढ्ने निर्माण टिमको विश्वास छ ।
स्टारकास्ट र गीतसंगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मलाई प्रदर्शनको पहिलो हप्तामा नै शनिवारबाहेक दुईवटा सार्वजनिक विदा मिलेको छ । फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा फिल्मले राम्रैसँग उठाउने देखिन्छ । सार्वजनिक विदामा आश गरिएका फिल्मको व्यापारमा उछाल आएको धेरै उदाहरण छन् ।




