१२ फागुन, काठमाडौं । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।
सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो।
८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितका ओपनर कुशल भुर्तेल ५३ बलमा ३ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । कुशलले ४२ औं बलमा आफ्नो टि२० आई करिअरको पाचौं अर्धशतक पूरा गरेका थिए । उनी नेपालबाट टि२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाड बनेका छन् ।
विजयी चौका प्रहार गरेका आरिफ शेख २७ बलमा १ चौकासहित २१ रनमा अविजित रहे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । आसिफ १८ बलमा १ चौकासहित १३ रनमा क्याच आउट भए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। ओमानका कप्तान जिशान मकसुदले २८ बलमा ३ चौकासहित सर्वाधिक २१ रन बनाए । कलिमुल्लाह १४ र नसिम खुसी १५ रनमा आउट भए । अन्य ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।




