काठमाडौँ, फाल्गुन ११। बरिष्ठ कलाकार जयनन्द लामाको ६५ बर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए ।
उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । बिहान दूध पुर्याउन जाने मान्छेले देखेर प्रहरीलाई खबर गरेको जनाइएको छ। । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
उनले 'मनको बाँध', 'छक्कापञ्जा' लगायतका धेरै चलचित्रहरूमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए । लामाले कलकत्ते काइँयो, चुईंचुईं चुइँकने जुत्ता, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलु जस्ता दर्जनौं चर्चित लोक गीतहरू गाएका छन्।




