फागुन- ८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी रहेको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आजको संसदमा एमसीसी सम्झौता टेबल हुने भएको हो । प्रधानमन्त्री देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भएका बताइएको छ ।
यो सहमतिअनुसार आज एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत हुने भएको हो । यसबारे अन्तिम निर्णय भने संसद बैठकअघि आजै बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्ने जनाइएको छ । शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले यही सहमतिअनुसार एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरिसकेको छ ।
तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ ।




