Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विपदमा १५ जनाले अनाहकमा ज्यान गुमाए

विपदमा १५ जनाले अनाहकमा ज्यान गुमाए

images
  • समाचार
  • भाद्र १६, २०७८ बुधवार ०९:०५ बजे
  • 1.4K
    SHARES
  • विपदमा १५ जनाले अनाहकमा ज्यान गुमाए
    images

    काठमाडौँ,

    मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी) मा १५ जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । अवरुद्ध भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।    
        
    प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपद्मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।    
        
    दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास जारी गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।    
        
    मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ । यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।    
        
    आजदेखि मौसम सुधारियो    
        
     केही दिनदेखिको झरीले प्रभावित बनाएको जनजीवन मौसममा आएको सुधारसँगै सामान्यतर्फ उन्मुख भएको छ । आजदेखि मौसम खुले पनि बदली भने मुलुकभर नै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज ठाउँठाउँमा घाम लागिरहेको तर कतिपय ठाउँमा पानी पनि परिरहेको जानकारी दिनुभयो । यद्यपि हिजो अस्तिको जस्तो झरी भने नरहेको उहाँको भनाइ छ । आज राति बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले अन्य क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्नसक्ने भएकाले जमिन पूरै भिजिसकेको हुँदा सामान्य वर्षाले नै क्षति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गर्नुभएको छ ।    
        
    उहाँले भन्नुभयो, “पूरै खुलेको छैन र पूरै ढाकेको पनि छैन, बदलीको अवस्था कायमै छ ।” उहाँले न्यून चापीय रेखा नेपालबाट दक्षिण सरिसकेको पनि जानकारी दिनुभयो । यसरी उक्त रेखा दक्षिण सर्नु भनेको नेपालमा वर्षा गराउने मनसुनी वायु कमजोर हुनु हो तर पनि मनसुनी वायु भने कायमै छ । अहिले पनि बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भने पानी परिरहेको छ ।    
        
    यसपालिको पछिल्लो झरी भने चार दिन रहेको जनाइएको छ । यसअघि मनसुन सुरुआती ताक र असारको मध्य समयमा दुई पटक भारी वर्षा हुँदा सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला नराम्ररी प्रभावित बनाएको थियो । केही दिनयता निरन्तरको झरीले भने तराईका साथै केही पहाडी क्षेत्रमा डुबान र बाढीपहिरोले असर गरेको छ ।    

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology