किराना पसल पनि खोल्न नपाइने :जेठ २० सम्म निषेधाज्ञा
काठमाडौं , ११ जेठ। संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
जेठ १३ देखि थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल बिहान ९ बजेसम्म खोल्न पाइनेछ । तर डिपार्टमेन्टल स्टोर,किराना पसल चाहिं बन्द गर्ने निर्णय भएको छ । प्रशासनले निर्माणका कार्यलाई पनि एक साताका लागि रोक लगाउने निर्णय गरेको छ ।साथै, विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ ।
अब निषेधाज्ञामा बैंक, सरकारी कार्यालय, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजे देखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजे सम्म मात्र चल्न पाउनेछन् हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको थियो ।काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ ।




