काठमाडौँ,
काठमाडौँ उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् । केही दिनदेखि काठमाडौँको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् । फोहोर उठ्न नसक्दा काठमाडौँ दुर्गन्धित बन्दै गएको छ । त्यस्तै फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ । काठमाडौँवासीका लागि यो समस्या नयाँ भने होइन ।
केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ । उपत्यकाको दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गर्ने गरिएको छ ।




