काठमाडौँ,
नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।
टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर उपचारमा प्रयाेग हुने औषधिको उत्पादन शुरु गरिएको बताउनुभयो । उहाँले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिनुभयो ।
कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करीब रु ३२ करोड लगानीमा औषधि उत्पादन शुरु गरिएको हो । उहाँले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताउनुभयो ।
कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको जिएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको नेपालकै नमूना कम्पनी भएको जिकिर गर्नुभयो। “क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, अर्को कुरा हाम्रो कम्पनीमा नवीनतम् र अत्याधुनिक प्रविधि जडान भएका छन्”, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताउनुभयो । सो अवसरमा टिजिङ्ग कम्पनीले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिको समेत अनावरण गरेको छ ।




