२३ असार, काठमाडौं,
बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको छ ।
दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।
उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो । दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।
उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।
उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि प्रदान गरेको थियो ।https://youtu.be/DOwZH9rWwYo




