

२० असार, काठमाडौं,
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाउँदै असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्। निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।
अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।
सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।




