Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चलचित्र निर्देशक बिशारद बस्नेतको निधन

चलचित्र निर्देशक बिशारद बस्नेतको निधन

images
  • समाचार
  • आषाढ १९, २०७८ शनिवार ११:१५ बजे
  • 1.0K
    SHARES
  • चलचित्र निर्देशक  बिशारद बस्नेतको निधन
    images

    काठमाडौँ ,

    चलचित्र निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    ३९ वर्षका उनको शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पतालका कोभिड फोकल पर्सन नरेन्द्र तिम्सिनाले कोभिडको कारण बस्नेतको निधन भएको पुष्टि गरे । 

    भारतमा जन्मिएर लामो समय उतै काम गरेका बिशारदले दुई नेपाली फिल्म निर्देशन गरेका छन् । बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्म निर्देशन गरेका थिए । 

    नेपालमा उनले एभरेस्ट फिल्म एकेडेमीमा अभिनय पनि पढाउने काम गरेका थिए । उनले असिम शाहको निर्देशन रहेको ‘दुई रुपैंयाँ’ पनि अभिनय गरेका छन् । नाट्यकर्मी बिमल सुवेदीले बस्नेतले भारतमा पनि थिएटरमा निकै राम्रो अनुभव काम गरेको बताए । 

    ‘हामीले सँगै काम त गरेनौँ तर उहाँले भारतमा राम्रै कलाकारसँग काम गर्नु भएको हो । नेपालमा पनि उहाँ अभिनय, निर्देशन र प्रशिक्षण तीनै विधामा सक्रिय हुनुहुन्थ्यो,’सुवेदीले भने । 

    मिस्टर भर्जिनमा सँगै काम गरेका कलाकार कमलमणि नेपालले आफूले असल मित्रसँगै होनहार निर्देशक गुमाएको बताए । उनले २० दिन अघि आफूसँग कुराकानी भएको बताउँदै उनको निधनको खबरले स्तब्ध बनाएको बताए ।

    ‘२० दिनअघि मात्र उहाँसँग कुरा भएको थियो । म कोभिड पोजेटिभ भएर निको हुँदै थिएँ । बिशारदलाई भर्खर कोभिड भएको रहेछ । छेऊमा रहेको सिलिन्डर देखाउँदै मलाई केही हुन्न ब्रो भनेका थिए । मिस्टर भर्जिनको सिक्वेलमा हिरो बनाउनु छ तिमीलाई भनेका थिए । आज अचानक यो खबर सुन्दा हैन कि भने जस्तै लागिरहेको छ,’ कमलले भने । 

    बस्नतेले मण्डला थियटरमा 'क्लाउन एट वर्क' शीर्षकको कार्यशाला सन्चालन गरेका थिए । बस्नेतले मण्डलाको प्रोडक्सन 'बार दुर्वासा' मा अभिनय पनि गरेका थिए । 

    'उहाँको योगदान नेपाली रंगमञ्चमा सधैं जीवित रहनेछ', बस्नेतको निधनपछि मण्डला थियटरले आफ्नो फेसबुक पेजमा लेखेको छ, 'भौतिक रुपमा हामीसँग नरहेपनि हामी वहाँलाई वहाँका कामहरु, सपनाहरु सधैं सम्झिरहनेछौं ।'

    कमलमणि नेपालका अनुसार बस्नेतले चार महिनाअघि मात्र बुबा र हजुरआमा गुमाएका थिए । उनको शुक्रबार नै पशुपतिमा दाह संस्कार गरिएको छ । 

    images
  • सम्बन्धित विषय:

  • # चलचित्र निर्देशक

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology