काठमाडाै,
मुलुकमा भइरहेको राजनीतिक उथलपुथलको प्रभाव संघीय सरकारसँगै प्रदेश सरकारमा पनि प्रत्यक्षरुपमा परेको छ । जसका कारण प्रदेश सरकारको नेतृत्व परिवर्तनदेखि मन्त्रिपरिषद् पुनर्गठनसम्मका काम भएका छन् ।
संघकै राजनीतिक उथलपुथलको बाछिटा लागेको प्रदेश २ मा पनि सरकारका मन्त्रीहरु फेरिए । नयाँ मन्त्रीसँग फरक आस्था, फरक विचार र फरक सोच हुनु त स्वभाविक हो । मुलकलाई संघीय गणतन्त्रमा लैजानका लागि दृढ संकल्पित भएर ज्यानको आहुति दिएका सहिदहरुलाई हेर्ने दृष्टिकोण समेत फरक देखिएपछि प्रदेश २ का नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव विवादमा तानिएका छन् ।
उनले अघिल्ला मन्त्री जितेन्द्र सोनलले झुण्ड्याएका सहिदका तस्बिरहरु आफ्नो कार्यकक्षबाट हटाइदिएपछि विवादमा तानिएका छन् । जितेन्द्र सोनल प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुँदा आफ्नो कार्यकक्षमा रहेको कुर्सीको ठिक माथि मधेश आन्दोलनका सहिदहरुका साथै जनआन्दोलनका सहिदहरुको तस्बिर राखेका थिए । तीनै सहिदहरुको तस्वीर नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले हटाएर कांग्रेसी विचारसँग नजिकका नेताहरुको तस्बिर झुण्ड्याए ।
केही साताअघि मात्रै नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवले आफ्नो कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो समेत राखेका छैनन् । अघिल्ला मन्त्री सोनलले कार्यकक्षमा मधेस आन्दोलनका शहिदहरुका साथै जनआन्दोलनका सहिदहरुको तस्वीर राख्न लगाएका थिए । प्रायः मन्त्रालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने परम्परा छ ।
डा। रामवरण यादव राष्ट्रपति रहेको समयमा नेपाल विद्यार्थी संघले समेत सरकारी कार्यालयमा राष्ट्रपतिको तस्बिर राख्ने अभियान नै सञ्चालन गरेको थियो । मन्त्री यादवले आफ्नो कार्यकक्षमा मन्त्री सोनलले राख्न लगाएका मधेश आन्दोलनका सहिदहरुको फोटो हटाएर बीपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र शहिद दुर्गानन्द झाको तस्बिर राख्न लगाएका छन् ।
मन्त्री यादवका स्वकीय सचिव धिरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो पहिलेदेखि नै नरहेको दाबी गरे । उनले पहिलेदेखि नै रहेको मधेश आन्दोलन तथा जन आन्दोलनका सहिदहरुको तस्बिर नटहाएको र चारवटा फोटो थप गरिएको जानकारी दिए ।
उनले भने ‘उहाँहरुको योगदान मधेस विकासमा रहेकाले शहिदको तस्बिरलाई पनि सोही कोठाको अन्य भित्तामा राखिएको छ, तर मन्त्रीजीको कुर्सीभन्दा ठिक माथि बीपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र शहिद दुर्गानन्द झाको तस्वीर राखिएको छ । उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर बेपत्ता बनाईएको छ ।




