निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्मको समयमा ९७.४० प्रतिशत अर्थात् ३३८ मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष निर्धारित समयमा मतदान गर्न नआएको पाईएको छ ।
प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७ छन्। तर ९ जना मतदाता उपस्थित भएनन्। त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घोषणा गरेका थिए ।
११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता कोरना भाईरसको कारणले निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता रहेका थिए।
नेकपा एमालेका नेता रामबहादुर थापाले माओवादी पार्टी परित्याग गरेपछि रिक्त रहेको स्थानमा सो उपनिर्वाचन भएको हो ।
अब सर्वदलीय बैठक बसी केहि वेरपछि नै मतगणना सुरु गर्ने उनले बताए।
निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट थापा नै उम्मेदवार छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ छ । माओवादीले डा. देवकोटालाई मतदान गर्न ह्विप नै लगाएको थियो ।
गृहमन्त्री रामवहादुर थापा सहित स्वतन्त्र उम्मेदवारका डा. खिमलाल देवकोटा र कृष्णगोपाल तामाङलाई तीनजना उम्मेदवार रहेका थिए । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई समर्थन गरेपनि एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् । अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टी विवाद नमिलेको र खिमलाल देवकोटाले माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गरेकाले आफूहरुको उम्मेदवार देवकोटा नै रहेको बताएका छन् । तर केहीले पार्टी निर्णय मान्नु पर्ने भन्दै बादलको पक्षमा मतदान गर्नुपर्ने बताइरहेका निर्वाचनको समयमा देखीएको थियो ।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम मार्फत सार्वजनिक गर्ने योजना छ।
उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न नपाएपनि निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।




