Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

५५ बर्षदेखि भैँसीको नश्लमा सुधार

५५ बर्षदेखि भैँसीको नश्लमा सुधार

images
  • समाचार
  • श्रावण ३१, २०८० बुधवार ०६:०१ बजे
  • 1.1K
    SHARES
  • images

    ५५ वर्षदेखि मुर्राबाट नश्ल सुधार

    काठमाडौँ, साउन ३१ गते । भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए । तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए । 

     

    २०२५ साल भदौ १४ र २५ गते गोरखापत्रमा यसबारेमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा ‘श्री ५ को सरकार, पशु पालन विभाग तथा पशु चिकित्सा सेवाको आवश्यकता अनुसार भारत सरकारको अतिरिक्त सहयोग अन्तर्गत जम्मा रु. ४.६० लाखको लागतमा ती पशुहरू किनिएका तथा वितरण गरिएको छ’ भनी उल्लेख छ । भैँसीको सालाखाला मूल्य करिब दुई हजार सात सय रुपियाँ परेको र प्रतिदिन सालाखाला १२.५–१९.५ केजी दुध दिने समाचारमा उल्लेख छ ।

     

    राँगा र भैँसी किन्न दुई अधिकृत तथा भारतीय सहयोग मिसनका एक अधिकृतको टोलीले भारतको हरियाणा, पन्जाब र दिल्लीमा चार महिना बिताएको थियो । “राम्रोखालका पशुहरू मात्र चुनिएको छ र त्यही नेपाल आएका छन् । यद्यपि भारतमा यस्ता पशुहरूको आफैँ कमी छ, तापनि भारत सरकारले विशेष रूपमा नेपालमा यस्ता उन्नत जातको पशुहरू आपूर्ति गर्नमा सहमत भयो,” समाचारमा लेखिएको छ ।

     

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत जेठमा भएको भारत भ्रमणका क्रममा १५ वटा मुर्रा राँगा नेपाललाई उपलब्ध गराउने सहमति भएको छ । सुरुमा ३० वटा राँगा उपलब्ध गराउने कुरा भए पनि पछि १५ वटामा सहमति भएको पशु सेवा विभागका पदाधिकारीहरू बताउँछन् ।

     

    विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले हाल वीर्य उत्पादन गर्ने गरिएका राँगा पुराना भएको बताउँदै भन्नुभयो, “शुद्ध नश्लबाट जन्मिएकाबाट बढी दुध उत्पादन हुन्छ । त्यसैले नयाँ राँगा ल्याउन पहल भएको हो ।”

     

    ती कहिले नेपाल ल्याइपु-याइन्छ भन्ने एकिन छैन । भारतमा गई छनोट गर्न विभागका महानिर्देशकको संयोजकत्वमा टोली गठन गरिएको छ । “हरियाणाको केन्द्रीय भैँसी अनुसन्धान संस्थानको सहयोगमा मुर्रा राँगा ल्याइने छ । ती छनोट गर्न भारतका विभिन्न स्थानमा जानुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “वैदेशिक व्यापार अनुमति, जैविक विविधता अनुमतिलगायतका काम पूरा भएपछि मात्र नेपाल ल्याउन अनुमति मिल्छ । ती सबै प्रक्रिया पूरा गरेपछि खबर आउने छ र त्यसपछि हामीहरू लिन जानुपर्ने हुन्छ ।” उहाँले त्यसरी ल्याइएका मुर्रा जातका राँगाबाट वीर्य उत्पादन गर्न पोखरा, नेपालगन्ज र लहानको राष्ट्रिय पशु प्रजनन कार्यालयलाई उपलब्ध गराइने जानकारी दिनुभयो । मुर्रा राँगाबाट वीर्य उत्पादन गर्ने केन्द्र पोखरा, नेपालगन्ज र लहानमा छन् ।

     

    पोखराको कार्यालयले लुम्बिनीका केही जिल्ला, गण्डकी, बागमती तथा मधेश प्रदेशको सप्तरी र सिरहा, नेपालगन्जको कार्यालयले कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीको बाँके र बर्दिया एवं लहानको कार्यालयले कोशी तथा मधेशका केही जिल्लामा नश्ल सुधारका लागि मुर्रा राँगा, बोयर बोका र होलिस्टिन जातका साँढेको वीर्य उत्पादन गरी वितरण गर्ने गरेको छ । उत्पादित वीर्यलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला पशु सेवा कार्यालय तथा देशभरिका ७५३ सेवा केन्द्रमार्फत किसानसम्म पु-याइन्छ । विगतमा एक हजार सेवा केन्द्र रहेकामा सङ्घीयतापछि खुम्चिएर स्थानीय तहमा सीमित भएको छ ।

     

    पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले हालका मुर्राको वीर्यबाट नश्ल सुधार भएका भैँसीबाट एक बेत (३०५ दिन) मा करिब तीन हजार आठ सय लिटर दुध उत्पादन हुने गरेको बताउँदै भन्नुभयो, “भारतबाट नयाँ आयात गरिने भनिएका राँगाबाट नश्ल सुधार हुने भैँसीबाट एक बेतमा साढे चार हजार लिटरसम्म दुध उत्पादन हुने छ ।”

     

    हाल पोखराले बर्सेनि करिब साढे दुई लाख डोज, नेपालगन्जले ५० हजार डोज र लहानले मुर्राबाट तीन लाख डोज मुर्राको वीर्य उत्पादन गर्दै आएको छ । त्यसका लागि पोखरामा १२ वटा, नेपालगन्जमा आठ वटा र लहानमा तीन वटा राँगा राखिएका छन् । उत्पादित वीर्यलाई माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिन्छ र प्रतिडोज २५ रुपियाँमा बिक्री गर्ने गरिएको छ । भैँसीको कृत्रिम गर्भाधान दर करिब ५० प्रतिशत छ । 

     

    उहाँले कृत्रिम भैँसी (डमी) माथि राँगालाई चढाउन र उत्तेजित बनाउन निकै प्रयास गर्नुपर्ने भएकाले वीर्य उत्पादन गर्न सजिलो काम नभएको बताउँदै थप्नुभयो, “भारतबाट ल्याइने भनिएका राँगाबाट ल्याएकै भोलिपल्टबाट वीर्य उत्पादन गर्न सकिन्न । तिनलाई डमीमाथि उकाल्न र उत्तेजित बनाउन सिकाउनुपर्ने हुन्छ । पौष्टिक आहारा पनि निकै खुवाउनु पर्छ ।”

     

    राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका वरिष्ठ पशु विकास अधिकृत डा. शिवनाथ महतोले त्यहाँ उत्पादित वीर्य भारतको सीमामा पनि पुग्ने गरेको बताउनुभयो । “एग्रो फर्म वा प्राविधिकले सीमापारि पनि लैजान्छन् । 

     

    नेपाली किसानले भारतबाट पनि ल्याउने गरेका छन्,” उहाँले भन्नुभयो, “कुनै कुनैमा एकै पटकमा कृत्रिम गर्भाधान सफल हुन्छ । तर सरदर दुई पटकसम्म पनि डोज दिनुपर्ने हुन सक्छ ।” 

     

    नेपालगन्जको कार्यालयका पशु विकास अधिकृत डा. खिमानन्द खनालले त्यहाँ रहेका अधिकांश राँगा रुपन्देहीबाट छनोट गरी ल्याइएको बताउनुभयो । “हप्तामा दुई पटक वीर्य निकाल्नुपर्ने हुँदा पोषणयुक्त खानेकुरा दिनुपर्ने हुन्छ । ५६ बिघा जग्गामा लगाइएको हरियो घाँस, मिनरल, भिटामिन, गुणस्तरीय दानालगायत खुवाउने गरिएको छ,” उहाँले भन्नुभयो, “यहाँ उत्पादित वीर्यबाट कृत्रिम गर्भाधान गराउँदा गुणस्तरीय पाडापाडी जन्मिएका छन् ।” 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology