Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कलाकारहरूको श्रावण, व्रत कि शाकाहारी ?

कलाकारहरूको श्रावण, व्रत कि शाकाहारी ?

images
  • समाचार
  • श्रावण १०, २०८० बुधवार ०७:४८ बजे
  • 523
    SHARES
  • images

     

    काठमाडौँ, साउन ९ गते । साउन महिनामा व्रत बसेर भगवान् शिवजीको पूजा आराधना गर्नमा सिने कलाकारहरू पनि अन्य हिन्दु महिला जस्तै उत्साहित छन् तर उनीहरू आम महिला जस्तो कठोर व्रत बस्नुभन्दा पनि यो महिनाभरको खानपानमा भने विशेष सजग हुने गरेका छन् । महिला सिनेकर्मीहरू यति बेला कठोर रूपमा व्रत नै नबसे पनि शाकाहारी भने बन्ने गरेको बताउँछन् । पौराणिक मान्यता अनुसार यो महिनाको सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहँदै आएको छ । धार्मिक आस्था भएकाले महिनाभर माछा, मासु, लसुन प्याजलगायत केही कन्दमूल तथा अशुद्ध मानिएका केही सब्जीलाई वर्जित गर्ने गरेको पाइन्छ । 

     

    अभिनेतृ मिथिला शर्मा साउनलाई भगवान् शिवको महिनाका रूपमा लिने र त्यसमा पनि सोमबार शिवको प्रिय बारका रूपमा मानिँदै आएको बताउनुहुन्छ । झन्डै ६० वसन्त पार गरिसक्नुभएकी शर्मा उहाँ आफ्नो विगत सम्झँदै भन्नुहुन्छ, “हामी केटाकेटी हुँदा यति रङ्गीविरङ्गी भएर यसरी व्रत बस्ने चलन भएको जस्तो लाग्दैन । अहिले व्रत बस्ने र मन्दिर धाउने प्रवृत्ति निकै बढेको छ । ईश्वरप्रति भक्ति विश्वास जगाउँदै पूजा आराधनामा सरिक हुँदै व्यक्ति स्वयम्लाई त फाइदा पुग्छ नै समाजलाई पनि अनुशासित बनाउन मद्दत गरिहेको हुन्छ ।”

     

    उहाँ आफू भने यो अवधिमा कठिन व्रत नबस्ने तर भगवान् शिवको नियमित पूजा आराधना गरेर सात्विक भोजन गर्ने गरेको बताउनुहुन्छ । 

     

    साउनको सोमबार विशेष गरेर महिलाहरू रातो, हरियो पहेँलो पहिरनमा ठाँटिने नयाँ बजार ट्रेन्डका बारेमा उहाँ भन्नुहुन्छ, “साउनमा हरियो वा पहेँलो रङ्मा नै रङ्गिनु पर्छ भन्ने छैन । यो केवल व्यक्तिको विश्वास र सोचाइ मात्र हो । चुरा, टीका, कपडा, मेहन्दीलगायत शृङ्गारका विषय त व्यापारीले चलाएका फन्दा मात्र हुन् । मुख्य कुरा हाम्रो आन्तरिक चित्तलाई कस्तो साधना वा कर्मले शुद्ध गर्न सकिन्छ भन्ने नै हो ।” नायिका ऋचा शर्मा पनि साउनको सोमबार व्रत नै नबसे पनि खानामा विशेष शुद्धताको ध्यान दिने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुनै न कुनै निहुँमा व्रत बस्नु राम्रो कुरा हो । म अन्न वा जल नै त्यागेर व्रत त बस्दिनँ तर यो अवधिमा शाकाहारी भोजन मात्र गर्छु ।” 

     

    साउने हरियालीले विवाहित वा अविवाहित महिलामा उत्तिकै उत्साह थपेकै हुन्छ । व्रत बस्नेका आआफ्नै मनोकाङ्क्षा हुने गरेको छ । अविवाहित रहनुभएकी चर्चित अभिनेतृ तथा निर्देशक दीपाश्री निरौला भने साउनको प्रत्येक सोमबार उत्साहका साथ व्रत बस्ने गरेको बताउनुहुन्छ । उहाँ कुनै कामना सिद्धिका लागि नभई आफ्नै स्वास्थ्यमा लाभप्रद हुने आत्मविश्वासका साथ व्रत बस्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एक त भगवान्को सम्झनामा पनि व्रत बसिन्छ । अर्को यसले शरीरलाई पनि फाइदा गराउँछ ।” उहाँ साउन महिलाहरूको उत्साहको महिना भएको विश्वास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो महिना मलाई औधी मन पर्छ र यसले चाडबाड सुरु भएको सङ्केत पनि दिन्छ । प्राकृतिक रूपमा पनि सुन्दर हुन्छ । शीतलताको आभास हुने भएकाले पनि उत्साहमय लाग्छ ।”

     

    यस वर्ष अधिक मास परेकाले नियमित व्रत बस्दै आएकाले असारको अन्तिम सोमबार नै सुरु गरेका छन् । पहिलो पटक व्रत बस्न चाहनेका लागि भने अधिकमास वा मलमासका कारण व्रत सुरु गर्नु त्यति उचित नहुने धार्मिक व्याख्याताको भनाइ रहँदै आएको छ । त्यही कारण विगतका वर्षमा जस्तो विभिन्न पवित्र नदीका जल लिएर बोलबम जप्दै शिव मन्दिर धाउनेको सङ्ख्या भने घटेको छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology