बालबालिकालाई सरकारले आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
देशभरिका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । लालका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
अभियानमा भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि सरकारले बालबालिकालाई खुवाउने गरेको छ ।




