
मंगलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेसँगै मर्स्याङ्दी नदी फेरि थुनिएको छ ।
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए ।
थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिममा परेको छ ।
गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।




