काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸ यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गरेकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मण प्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा । दीपेन्द्र रमण सिंहले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सो जानकारी गराएको हो ।
कोभिड –१९ महामारीसँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा प्राथमिकताका साथ अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको बताए। यसैगरी उनले महामारीका कारण हाल मानसिक रोगीहरूको संख्या समेत उल्लेखनीय रूपले बढेकाले मानसिक रोगीहरूका लागि समेत अस्पतालमा थप बेडको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको कुरा जानकारी गराए ।
यसैगरी स्वास्थ्य तथा वातावरण सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रकृया सुरू भइसकेको कुरा सो अवसरमा जानकारी दिँदै काठमाडौँमा ३०० शैया र प्रदेशहरूमा ५० र ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिनु पर्ने आवश्यकता रहेको बताए।




