काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत ले पारित
६ असार, काठमाडौं । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति-तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा लगायतका कार्यक्रम ल्याएका थिए ।
तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति-तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए ।




