काठमाण्डाै, जेठ २० । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा जारी खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो।
नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो। कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडे। नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन। यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिन सफल भए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२ र सृष्टि जैशीले पनि अविजित २३ रन जोडे। त्यस्तै सानु राजवंशी २१ रनमा आउट भइन्। कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए।
यो छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमूनिको महिला विश्व कपमा पुग्नेछ। अब नेपालले दोस्रो खेलमा भोलि यूएईसँग खेल्नेछ। यस्तै सोमवार भुटानसँग, मंगलवार थाइल्यान्डसँग र बिहीवार मलेसियासँग खेल्नेछ।




